५ भदौ, विराटनगर ।
संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिँदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ ।
अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो । उमेरले ७८ पुगिसकेका ट्रम्प पुनः एकपटक राष्ट्रपतिमा दोहोरिन खोज्दै छन् ।
राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन्, ट्रम्प । अघिल्लो निर्वाचनमा भने ट्रम्पले डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजय भोग्नुपरेको थियो । आफू राष्ट्रपति भएकाबेला ट्रम्पले सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै रुष्ट व्यवहार देखाएका थिए ।
पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीकै नेताहरू पनि खुशी थिएनन् । उनले बाइडेनलाई राष्ट्रपतिका रुपमा स्वीकार्न समेत निक्कै समय लगाएका थिए । त्यै पनि यसपाली राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका ट्रम्पले चुनावी अभियानलाई युद्धस्तरमा अगाडि बढाइरहेका छन् ।ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस भने डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी दाबेदार हुन् । हालैमात्र राष्ट्रपति बाइडेनबाट डेमोक्रेटिक पार्टीको जिम्मेवारी पाएकी ह्यारिसले अमेरिकाकी वर्तमान उपराष्ट्रपति पनि हुन् । सन् २०२१ यता उपराष्ट्रपतिको भूमिकामा छिन्, ह्यारिस । अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति पनि हुन्, उनी ।
हालका डेमोक्रेट राष्ट्रपति बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट खुट्टा झिकेपछि मौका ह्यारिसले पाएकी हुन् । बाइडेनको साथ र समर्थनले बलियो उम्मेदवार बनेकी ह्यारिसलाई पूर्व राष्ट्रपति बाराक ओबामाले पनि खुलेर साथ दिएका छन् । पूर्वराष्ट्रपतिद्वय बाइडेन र ओबामाको समर्थनबाट हौस्सिएकी ह्यारिसले पनि राष्ट्रपतिको निर्वाचनका लागि कम्मर कसेर चुनावी अभियानलाई अगाडि बढाएकी छन् ।
राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा, मतदातालाई आकर्षित गर्न उनीहरूले विभिन्न रणनीतिहरू अपनाइरहेका छन् । ट्रम्प र ह्यारिस दुवैले स्वास्थ्य सेवा, रोजगारी र सुरक्षाजस्ता मतदाताका प्राथमिक विषयहरू वा लोकप्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने बाचासहित उनीहरूको ध्यान केन्द्रित खोजिरहेका छन् ।
ट्रम्पले धेरै आक्रमक र थोरै भावनात्मक रूपमा मतदातालाई रिझाउन खोजिरहेका छन् । गत जनवरी ६ मा पेन्सिलभेनियामा चुनावी र्यालीमा भएको ट्रम्पमाथिको हमलालाई पनि कतिपयले चुनावी प्रचारकै रूपमा अर्थ्याइरहेका छन् । तथापि, यसको आधिकारिक पुष्टि भने भएको छैन ।
त्यसबाहेक ट्रम्पले ह्यारिस र उनको समर्थनमा उभिएका बाइडेनमाथि राजनीतिक हमलाहरू गरिरहेका छन् । बाइडेन सरकारको कमजोरी खोजेर आलोचना गर्नेदेखि लिएर उनीहरूकै योग्यतामा प्रश्न तेर्स्याउने काममा ट्रम्प र उनका समर्थक लागिपरेका छन् । पटक–पटक बाइडेनको राजीनामा मागिसकेका ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल ‘एक्स’ मा प्रत्यक्ष दखल राखेका छन् भने अरू परम्परागत मिडियाहरूको पनि उत्तिकै प्रयोग गरिरहेका छन् ।
आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको योजना छ । न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पले टेस्लाका मालिक मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् । टेस्ला र स्पेस्क एक्सका मालिक मस्क र ट्रम्पबीचको दोस्ताना पछिल्लो समय खुबै जमेको छ ।
उनीहरूले हालै सामाजिक सञ्जाल एक्समा निकै लामो भलाकुसारी गरेका थिए । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ ।
यता, ट्रम्पकी प्रतिद्वन्द्वी ह्यारिसले भने भावनात्मक रूपमा आफ्नो प्रचार–प्रसार गरिरहेकी छन् । विशेषतः उनका लागि राष्ट्रपति बाइडेन स्वयम् ‘इमोसनल्ली’ खटिइरहेका छन् भन्दा फरक नपर्ला । सोमबार पार्टीको अधिवेशनबाट बिदाइ हुँदै गर्दा भावुक बनेका उनले ह्यारिसको खुलेरै प्रसंशा गरेका थिए ।
अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास थिएन। यसैले रंगभेदको अन्त्यका लागि भन्दै ह्यारिस र उनका समर्थक अफ्रिकी–अमेरिकी समुदायको समर्थन प्राप्त गर्न बेजोडले लागिपरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ।