५ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ । सोहीअनुरूप निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको छ ।
उक्त उपनिर्वाचनमा भाग लिनेगरी बुधबार रास्वपाले निर्णय गरेको हो । आज बिहान पार्टी कार्यालय च:मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल रास्वपाले यसअघि प्रदेश र संघमा मात्र आफ्ना उम्मेदवार खडा गर्ने गरेको थियो । दोस्रो संसदीय निर्वाचनको ६ महिनाअघि मात्र खुलेको रास्वपा २०७९ को चुनावमा प्रत्यक्षतर्फ ७ वटा र समानुपातिकतर्फ १३ गरी कुल २० सिटमा ऐतिहासिक जित हासिल गरेको थियो ।
पछि उपनिर्वाचनमा थप एक सिट थपेर सांसदको संख्या २१ पुर्याएको रास्वपा संसद र सरकारमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन सफल भएको छ ।