६ भदौ, विराटनगर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् तथा निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के भन्दै प्रश्न गरेकी हुन् । त्यसबाहेक उनले त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेस र एमालेका कारण दुर्दर्शा निम्तिएको आरोप लगाइन् ।
प्रधानमन्त्री ओलीलाई सेनापतिको संज्ञा दिँदै शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रूपमा बोल्दै हिँडेको आरोप लगाइन् । उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ? प्रधानमन्त्री । साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन भयो । त्यसको माउ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्यो ।’