६ भदौ ,एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्ष पद भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले सम्हाल्ने सम्भावना बढेको छ ।
आइसिसीको अध्यक्षका लागि यही अगस्ट २७ सम्म उम्मेदवारी दिइसक्नुपर्नेछ । आइसिसीको अध्यक्षमा अहिलेसम्म शाहबाहेक अरू कसैको पनि उम्मेदवारी परेको छैन ।
एकजनाभन्दा बढीको उम्मेदवारी परेमा अध्यक्षका लागि निर्वाचन हुनेछ । नयाँ अध्यक्षको कार्यकाल आगामी डिसेम्बर १ देखि सुरु हुने छ ।
अन्तर्राष्ट्रिय र भारतीय सञ्चारमाध्यमले जनाएअनुसार वर्तमान कार्य समितिमा राम्रो पकड भएकाले शाह नै आईसीसीको नयाँ अध्यक्ष चयन हुने लगभग तयजस्तै छ ।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेले आफ्नो दोस्रो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसकेका छन् । बार्कलेको कार्यकाल यसै वर्ष नोभेम्बर ३० मा सकिँदै छ ।
२/२ वर्षमा आईसीसीको नयाँ कार्यसमिति चयन हुने प्रावधान छ । उनी सन् २०२० देखि नै आइसिसीको नेतृत्वमा छन् । आइसिसीको नियमअनुसार अध्यक्षको निर्वाचनमा १६ मत हुन्छ ।
अध्यक्ष निर्वाचित हुनका लागि साधारण बहुमत (५१%) अर्थात ९ मत आवश्यक पर्छ । यसअघि अध्यक्ष निर्वाचित हुन दुई तिहाइ बहुमत आवश्यक पर्ने प्रावधान थियो ।
यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले भारतका पूर्वफिल्डिङ प्रशिक्षक आर श्रीधरलाई आफ्नो टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
उनी न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा सहभागी हुनेछन् ।
उनी सन् २०१४ देखि २०२१ सम्म लगातार सात वर्ष भारतीय टोलीको फिल्डिङ प्रशिक्षक थिए । अफगानिस्तानले सेप्टेम्बरमा न्युजिल्यान्डसँग टेस्ट र त्यसपछि दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
टेस्ट म्याच भारतको ग्रेटर नोएडामा र एकदिवसीय सिरिज शारजाहमा खेलिनेछ ।
९० को दशकमा हैदरावादका लागि बायाँ हाते स्पिनरको रूपमा खेल्ने ५४ वर्षीय श्रीधरले सन् २००१ मा आफ्नो कोचिङ करिअर सुरु गरेका थिए । उनी २०१४ मा यु–१९ विश्वकपको लागि भारतीय जुनियर टोलीमा काम गरेका थिए ।
सोही वर्ष उनी आईपीएलमा किंग्स इलेभेन पञ्जाब टोलीमा पनि समावेश भए ।
त्यसपछि उनी यसै वर्ष भारतीय टोलीमा पनि आबद्द भएका थिए । श्रीधर लेभल–३ प्रमाणित प्रशिक्षक हुन् । एसीबीले श्रीधरलाई भविष्यमा लामो सम्झौता पनि दिनसक्ने बताएको छ ।