८ भदौ, चितवन ।
साउनमा ब्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेको थियो । तर, भदौ लागेसँगै माग बढेको छ भने सँगसँगै भाउमा पनि वृद्धि भएको छ ।
माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेको थियो । सोहीअनुरूप फार्महरूले आफैँ मूल्य निर्धारण गर्ने गरेका हुन् ।
दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच रुपैयाँ तय गरेको छ । ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको हो ।
तथापि, मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न नसकिएको किसानको गुनासो छ । साउनमा बिक्री हुन बाँकी अण्डाहरू बिक्री भइसकेकाले अब केही सहज बन्ने उनीहरूको अनुमान छ ।भदौ लागेसँगै व्रतहरू सकिएका छन् भने पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको छ । चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग पनि बढेको छ ।