८ भदौ, विराटनगर ।
आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले दशरथ रंगशाला खेल्न नमिल्नेगरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो मै हुने छ ।
साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि सेमिफाइनल खेल एन्फा कम्प्लेक्समै गरिने भएको हो ।
नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको अवस्था नाजुक भएपछि च्याम्पियनसिपका समूह चरणका सबै खेल त्यहीँ खेलाइएको थियो ।
अब, आइतबार र सोमबार हुने सेमिफाइनलका खेलहरू त्यहीँ हुने छन् । पहिलो सेमिफाइनलमा आइतबार दिउँसो ३ बजेतिर नेपालले भुटानसँग खेल्ने छ । दोस्रो सेमिफाइनलअन्तर्गत सोमबार ३ बजे भारतले बंगलादेशसँग खेल्ने छ । दुवै खेलका विजेता टोलीले उपाधिका लागि बुधबार खेल्नेछन् ।
बुधबार साँझ ५ः३० बजे हुने फाइनल खेल भने दशरथ रंगशालामा गराउने एन्फाको योजना छ ।