८ भदौ, विराटनगर ।
भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।
शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेट्न उनी महाराष्ट्र जलगांवका एकजना विधायकलाई साथ लिएर काठमाडौं आइपुगेकी हुन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो बिहान भारतीय पर्यटक सवार बस दुर्घटना भएको थियो ।
४४ जना सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा १९ जना घाइते भएकामध्ये १६ जनाको महराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते तीन जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ । बस दुर्घटनामा घाइते भएकाहरूलाई भेट्न र मृतक शवहरू लिएर जान उनी नेपाल आएकी हुन् ।
काडमाडौंमा अवतरण भएसँगै उनी घाइतेहरूलाई भेट्न महराजगन्जस्थित टिचिङ अस्पताल जाँदै छिन् ।