८ भदौ, विराटनगर ।
भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिबार सामाजिक सञ्जालमार्फत क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
सोसल मिडिया ‘एक्स’ मा एउटा भिडियो सार्वजनिक गर्दै धवनले बिसिसिआईलगायत आफ्नो बाल्यकालका प्रशिक्षकलाई धन्यवाद दिए ।
३७ वर्षीय धवनले सन् २०१० मा अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा भएको एकदिवसीय अन्तर्राष्ट्रियमार्फत भारतका लागि डेब्यु गरेका थिए ।
१३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा धवनले टेस्ट क्रिकेटमा २ हजार ३ सय १५ रन बनाएका छन् भने सात शतक र पाँच अर्धशतक प्रहार गरेका छन् ।त्यस्तै १ सय ६७ ओडीआई खेलेका धवनले १७ शतक र ३९ अर्धशतकसहित ६ हजार ७ सय ९३ रन बनाएका छन् । टी-२० मा धवनले ६८ खेलमा १ हजार ७ सय ५९ रन बनाएका छन् ।
पछिल्लो दुई वर्षयता राष्ट्रिय टिमबाट बाहिर रहेका धवनलाई सुभमन गिलले प्रतिस्थापन गरेका थिए । धवनले अन्तिम पटक गत अप्रिलमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सको नेतृत्व गरेका थिए ।
भिडियो हेर्न, यहाँ क्लिक गर्नुहोस् ।