९ भदौ, विराटनगर ।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी टोलीमा नहुँदा उनीआबद्ध इन्टर मियामीका खेलहरूमा दर्शक संख्या उल्लेखनी रूपमा घटेको रिपोर्टहरू बेला–बेला सार्वजनिक भइरहेका छन् । अमेरिकन मेजर लिग सकरमा घट्दो टिकट बिक्रीदर घटिरहेका कारण टिकटमा पनि छुट दिएर बेच्नुपरेका रिपोर्ट पनि सार्वजनिक भएका थिए ।
यसलाई मध्येनजर गरेर ३८ वर्षीय मेस्सी स्टेडियम फर्किएका छन् । आइतबार बिहान घरेलु मैदान चेस स्टेडियममा भएको सिनसिनाटीसँगको खेल हेर्न मेसी स्टेडियम फर्किएका हुन् । उनले दर्शकदीर्घामा बसेर हेरेको खेलमा मियामी २–० गोलले विजयी हुँदै प्लेअफमा स्थान ओगट्न सफल भएको थियो । मियामीका लागि दुवै गोल उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले गरेका थिए ।
एनएफएलका लिजेन्ड टोम ब्राडी र मियामीका मालिक डेभिड बेकह्यामसँग बसेर मेसीले सिनसिनाटीविरुद्धको जितमा उत्सव मनाएका थिए । स्टेडियम भरिभराउ राख्नका लागि पनि मेसी दर्शकका रूपमा फर्किएको हुन सक्ने कतिपय मिडिया रिपोर्टको आँकलन छ । तर पनि मेसीको उपस्थितिले उनका समर्थकलाई उत्साह त दिलाएको छ । विश्वकप विजेता मेसीको आगमनले उनका सहकर्मी स्वारेज, जोर्डी अल्बा, सर्जियो बुस्केट्स जस्ता अन्य स्टार खेलाडीहरूलाई पनि खुसी तुल्याएको छ । तर, तर, उनी कहिलेबाट मैदान फर्किन्छन् भन्ने उत्सुकताले सबैलाई उतिकै सताएको छ ।
जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियामाथि जित हात पार्दा घुँडामा चोट लागेपछि मेसीले कुनै पनि खेल खेलेका छैनन् । गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् ।
मेसीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको भए पनि उनी पूर्ण प्रशिक्षणमा फर्किएका छैनन् । यसैले पनि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गर्दा मेसीलाई समावेश गरेनन् । मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने छन् । उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल र त्यसको पाँच दिनपछि हुने कोलम्बियासँगको खेल गुमाउने निश्चित छ ।तथापि, मियामीले भने मेसी नियमित सिजनको अन्त्यअघि नै फर्कने अपेक्षा गरेको छ । अक्टोबर १९ मा यो सिजन समाप्त हुनेछ भने अर्को हप्ताबाट प्लेअफका खेल सुरु हुने छन् ।