९ भदौ, विराटनगर ।
घरेलु टोली नेपाल आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । पेनाल्टी सुटआउटमा गोलरक्षक जियारथ शेखले भुटानका दुई बल रोके । अनि आफैं एक गोल गरेर टोलीलाई फाइनलमा पुर्याए ।
पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको निर्धारित समय बराबरीमा सकिएको हो ।
यससँगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा भुटानले गोल गर्दै नेपालविरुद्ध अग्रता बनाएको थियो । तर, खेलको ७४औं मिनेटमा गोल फर्काउँदै नेपाल बराबरीमा फर्किएको थियो ।
समूह ‘ए’ को समूह विजेताका रूपमा नेपाल र उपविजेताका रूपमा बंगलादेश सेमिफाइनलमा पुगेका थिए । अब नेपालले उपाधिका लागि भारत र बंगलादेशको जिजेता टोलीसँग खेल्ने छ ।
समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको साविक विजेता भारतले सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।
समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको थियो ।नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोडेको थियो ।
बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो । साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो । अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ ।
यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो । भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो । भुटान तीन अंकसहित समूह उपविजेता बन्यो ।
माल्दिभ्सले भने अंकविहीन रह्यो । भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो । तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा मैदान उत्रिएको थियो । उसलाई जितको विकल्प थिएन ।