९ भदौ , काठमाण्डौ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह उर्फ बालेन । राजनीतिक दलका त परकै कुरा, स्वतन्त्र जनप्रतिधिहरूबीच पनि पृथक स्वभावका छन्, उनी । कसैले फुर्क्याउँदैमा फुर्किंदैनन्, कसैले दबाउन खोज्दा दबिँदैनन् । जे गर्छन्, कुनै धक नमानीकन गर्ने साहस राख्छन्। यसैले पनि होला बालेन क्रेजको ‘ग्राफ’ निरन्तर उकालो लागिरहेको छ ।
शासककै रूपमा पनि बालेनलाई मन पराउनेहरू यतिविघ्न छन् कि, घरिघरि त उनको प्रशंसामा गीतै निस्कँछन् । स्वविवेक र स्वनिर्णयलाई परिपालना गरेर उनले लिएका केही निर्णयहरू अरू सरकारले शिरोपर गर्छन् । केही योजना आफ्ना जनप्रतिनिधिले पनि आत्मसात् गर्नुपर्छ भन्ने युवाहरूको पंक्ति उत्तिकै बढ्दो छ ।
यसको उदाहरणका रूपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनको पोस्टहरूमा गर्ने ‘रियाक्ट’ र प्रतिक्रियालाई पनि लिन सकिन्छ । यसरी हेर्दा समर्थकहरूले त उनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि नै सारिसकेका छन् । तथापि, आफू मुलुकको प्रधानमन्त्री बन्नेबारे बालेनले बोलिसकेको अवस्था भने छैन् ।
नत राजनीतिक दल खोल्ने योजना बारे नै उनले मुख खोलेका छन् । स्थानीय जनप्रतिनिधका रुपमा बालेन काठमाडौं महानगरपालिकाभित्रका मात्र नभएर देशभरिका नागरिकको भरोसाका केन्द्र हुन् भन्दा अत्युक्ति नहोला । यी सबै कारक तत्वहरूले गर्दा बालेन स्थानीय सरकार प्रमुख हुन् कि संघकै प्रमुख हुन् ? भन्ने प्रश्न उठ्छ ।
कानुनतः उनी काठमाडौं महानगरपालिकाभित्रका मात्र कार्यकारी हुन् । देशकै नेतृत्व त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को दल नेपाली कांग्रेसको समर्थनमा गरिरहेका छन् । तर, व्यवहारतः यो देशका नागरिकले देशको कार्यकारी भन्दा धेरै आशा–अपेक्षा–भरोसा भने बालेनमाथि गरिरहेको जस्तो देखिन्छ ।
नयाँ–पुराना सबै दलहरू र उनीहरूको ‘सत्ता प्रदर्शन’ ले वाक्क, दिक्क, प्याक्क भइसकेका नागरिकले यतिसम्म गर्नुलाई अस्वभाविक मान्न सकिँदैन पनि । युवालाई मौका दिन्छु भन्नेहरू ७२ वर्ष पुग्दा पनि प्रधानमन्त्री हुन छोड्दैनन् । उनीभन्दा आठ वर्ष जेठा छटौं पटक प्रधानमन्त्री बन्न पाउने आशामा बसिरहेकै छन् ।
यस्तो अवस्थामा युवाहरूले बालेनलाई देशकै कार्यकारीका रूपमा चाहनुलाई अस्वभाविक पनि मान्न सकिँदैन । बालेनको उदार स्वभाव हेर्दा पनि उनले स्थानीय सरकार होइन संघीय सरकार नै हाँकेको फिल हुन सक्छ । देशभित्रका विपद्का घटनामा उनी प्रदेश र संघ सरकारकै जस्तो भूमिकामा रहन्छन् ।
सोलुखुम्बुको थामेका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गरेर उनी डेढ लाख लिएर पुगेको प्रदेशसरकारभन्दा मनकारी देखिए । कतिपय अभिब्यक्तिकै कारण बालेन अलोचनाको शिकार नबनेका होइनन् तर सामान्य अपवादबाहेक बालेनलाई अहिलेसम्म न राजनीतिक दल, न सरकार र नत कर्मचारीतन्त्र कसैले पनि दबाउन सकेका छैनन् ।
मुलुकका कार्यकारी बस्ने सिंहदरबारको फोहोर नउठाउने अडानलगायत केही विषय विवादास्पद हुँदा पनि बालेन विचलित भएनन् । संघीय सरकारलाई ‘चोर’ भनेपछि बे–लघाम भनेर कतिपयले आलोचना हुँदा समेत उनी हच्किएका छैनन् । राजनीतिक दल र उनीहरूका भातृ संगठनहरूले दिएको दबाबबाट हच्किँदैनन्, उनी ।
विरोधावास योजनाहरूलाई सार्थकता दिने काममा उनी डग्मगाउँदैनन् । बेलाबेला बालेनमाथि गरिब होइन, गरिबी हटाऊ भन्दै केही दलहरू उर्लन्छन् । सडक नै ओगटेर बस्नेहरूलाई हटाउन डोजर र लठ्ठीको सहयता लिँदा पनि बालेनविरुद्ध नेता र उनीहरूका आसेपासे खनिए । तर, दीर्घकालीन योजनाका साथ तार्किक निर्णय गरेका बालेनको कारण काठमाडौंमा सौन्दर्यतामात्र थपिएन, ट्राफिक व्यवस्थापनमा पनि सहज भइदियो ।
जसले गर्दा बालेनले अन्ततः ‘क्लिनचिट’ पाए सरह भो । नगरलाई सुन्दर र हराभरा बनाउन उनी तल्लीन छन् । फुटपाथलाई सधैंका लागि विस्थापित गरेका बालेनले अभियन्ता ईःसँग गरेको सम्झौता समेत कार्यान्वयन गरेका छैनन् । सडकमा रोजीरोटीका लागि व्यवसाय गर्दै आएकाहरुमाथि भएका धरपकड होस् या फुटपाथ व्यवसायीको सडक प्रर्दशन, यिनकै कारण बालेन कतिपय समय आलोचनाको शिकार बनेका छन्
तर पनि उनी कुनैपनि निर्णय र अडानबाट पछि हटेका छैनन् । कार्यपालिकाका कतिपय बैठकमा दलीय जनप्रतिनिधि, स्वतन्त्र मेयर बालेन र महानगरका कर्मचारबीच ‘चर्काचर्की’ हुन्छन् । तर एउटा पिउसो स्वतन्त्र मेयरलाई पेल्ने अडानमा बसेका उनीहरूको पेलानबाट टसमस हुँदैनन्, बालेन । यसबाट के स्पष्ट हुन्छ भने विज्ञहरूको सल्लाहमा स्वविवेकबाट निधोमा पुग्ने बालेन सरकार, दल र कर्मचारीतन्त्रबाट डराउँदैन, डगमगाउँदैन् ।