१० भदौ, विराटनगर ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पार्टीका नेता-कार्यकर्ता लक्षित हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । सोमबार बिहान लेखेको उनको स्टाटसमा राजनीतिक दलका नेता-कार्यकर्ताले जनतामाझ भ्रम फैलाउन खोजिएको देखिएको छ ।
त्यसरी भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई उनको आग्रह छ । सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उनले उल्लेख गरेका छन् ।
सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदीवरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको उनले स्पष्ट पारेका छन् । टुकुचाखोलाको २० मिटरवरिपरि निर्माण निषेधित क्षेत्रबारे पनि जानकारी गराइएको उनले बताएका छन् ।
‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि नलागेर आफ्नो कान छाम्नुपर्ने’मा उनले जोड दिएका छन् ।
उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सूचित गर्दै वाग्मती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौं । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन ।’
अदालतको आदेशानुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकिएको पनि उनले स्पष्ट पारेका छन् । ‘नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्नेछ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता–कार्यकर्ताहरुले जनतामाझ भ्रम नछर्नु होला,’ उनले लेखेका छन् ।