१० भदौ, विराटनगर ।
पछिल्ला केही समययता निजी विद्यालयहरूले चाडवर्पका नाममा आफ्ना विद्यार्थीहरूलाई चाडपर्व लक्षित पोसाक किन्न बाध्य तुल्याउँछन् । फागु पूर्णिमा आउँदा सेता कपडा, कृष्ण जन्माष्टमीमा राधा, कृष्ण, सुदामाका जस्तै कपडा किन्न लगाउँछन्, विद्यालयहरूले । त्यसबाहेक तिहार नजिकिँदै जाँदा गून्यो चोलो, क्रिसमसमा क्रिसमस ड्रेस अनि ईदमा कालो बुर्का जस्ता पोषाक किन्न लगाएर विद्यालयहरूले फजुल खर्च गराउँछन् ।
एक त निजी स्कुलको महँगो शैक्षिक शुल्क तिर्दातिर्दा हैरान भएका अभिभावकहरूलाई यसरी फजुल खर्च हुने पोसाक किनाउँदा झन् आर्थिक भार थपिने गरेको छ । आफ्ना विद्यार्थीलाई भोलि यसो गरेर आउनू भनेर स्कुलले दिएको उर्दी टार्न अभिभावकलाई हम्मे–हम्मे पर्ने गरेको छ । तर, आफ्ना सन्ततिको इच्छा पूरा गर्दागर्दै उनीहरूमाथि थुप्रिएको आर्थिक भार विद्यालयहरू देख्तैनन् ।
विद्यालयहरूले शिक्षण सिकाइका नाममा चाडपर्व लक्षित पोषाकहरू खरिद गर्न लगाएर अभिभावकहरूको फजुल खर्च गराइदिने गरेका छन् । यो समस्या विशेषत संस्थागत विद्यालय तथा मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थीहरुमा बढी छ । तर, अहिले निजी विद्यालयबाट सार्वजनिक शिक्षालयतर्फ पनि यो समस्या सर्दो अवस्थामा छ ।
चाडपर्व लक्षित पोषाक खरिद गर्न विद्यालयहरूले गर्ने गरेको बाध्यात्मक अवस्थाबारे बेलाबखत गुनासाहरू सतहमा आउने गरेका छन् । यस्तो परिस्थितिको अन्त्य हुनुपर्ने माग उठाउँदै स्थानीय तहमा पर्ने त्यस्ता गुनासो पुग्ने गरेका छन् । तर, यसो हुँदासम्म पनि यो अवस्था फेरिएको छैन, झन्–झन् बढेर गएको छ । बरु, विद्यालयहरूले धर्म–संस्कृति सुहाउँदो पोषाक लगाउँदैगर्दा धर्म संस्कृतिका सम्बन्धमा शिक्षण सिकाइमै सहयोग पुग्ने दाबी गर्छन् ।
अभिभावकको गुनासो सम्बोधन गर्दै विभिन्न स्थानीय तहहरूले त्यसरी विद्यार्थीहरूलाई चाडपर्व लक्षित पोसाक किन्नैपर्ने अवस्थामा नपु¥याउन निर्देशन दिनेका गरेका छन् । पछिल्लो समय चितवनको भरतपुर महानगरपालिकाले विद्यार्थीहरूलाई विभिन्न चाडपर्व लक्षित पोषाक खरिद गर्न विद्यालयहरूले गर्ने गरेको बाध्यात्मक अवस्था अन्त्य गराउन निर्देशन दिएको छ । महानगरले सवै विद्यालयहरुलाई पत्रचार गर्दै चाडपर्वका बेला फजुल खर्च गरेर पोषाक खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था बन्द गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।
विभिन्न चाडपर्व, धर्म र संस्कृतिको सन्र्दभ पारेर विद्यार्थीहरुलाई त्यस्ता चाडपर्वसँग सम्बन्धित पोषाकहरू खरिदका लागि बाध्य गराइएको भन्ने गुनासो प्राप्त भएपछि महानगरले त्यसो नगर्न भनेको छ । साथै, महानगरले बरु, विद्यालयले नै यस्ता पोषाक नमूनाका रूपमा उपलब्ध गराई शिक्षणसिकाई गराउन आग्रह गरेको छ ।