११ भदौ, विराटनगर ।
काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको फाइनल खेल एन्फा कम्प्लेक्समै हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवस्था नसुध्रिएका कारण फाइनल खेल एन्फा कम्प्लेक्सै हुने जनाएको हो ।
यसअघि समूह चरण र सेमिफाइनल एन्फा कम्प्लेक्समै भए पनि फाइनल भने दशरथ रंगशालामा गराउने एन्फाले जनाएको थियो । तर, हिलाम्मे मैदानको अवस्था नसुध्रिएका कारण फाइनल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने जनाइएको छ ।
साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले साविक उपविजेतासमेत रहेको बंगलादेशसँग खेल्ने छ । फाइनल खेल बुधबार दिउँसो २ः३० बजेबाट सुरु हुने छ ।सोमबार (हिजो) भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश उपाधिनजिक पुगेको हो । एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गर्नुपरेको थियो ।
टाइब्रेकरमा बंगलादेशले ४-३ गोलले बाजी मारेको हो । टाइब्रेकरमा भारतको पहिलो प्रहार बंगलादेशका गोलरक्षकले विफल पारेका थिए । बंगलादेशले भारतसँग बदला लिएको छ । गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।
नेपाल भने आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।यसअघि समूह चरणको खेलअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै समूह विजेता बनेको थियो ।
नेपालसँग हारे पनि बंगलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपाल र बंगलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थिए ।