१२ भदौ, विराटनगर ।
जनयुद्धलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एमालेबीच सदनमा आरोप प्रत्यारोप चलेको छ । जसलाई लिएर बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेका थिए । विद्युत बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि माओवादीका सांसदहरूले नियमापत्ति गरेका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी युद्ध नभएको भन्दै सांसद भट्टराईले ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए ।
सांसद माधव सापकोटाले नियमापत्ति गरेर बाल्ने समय मागे पनि सभामुखले समय दिएनन् । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे।सो क्रममा भट्टराईले बारम्बार ‘माओवादीको हिंसा नै हो’ भनी दोहोर्याइरहे । सापकोटाले संविधानले हिंसा नभनेको स्मरण गराइरहँदा भट्टराईले भने, ‘हिंसा हो हिंसा हो हिंसै हो । हिंसाबाहेक केही होइन । यो हाम्रो परिभाषा हो, उहाँले नमाने पनि केही हुँदैन । यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो ।’