१२ भदौ, विराटनगर ।
काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको छ । पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई बंगलादेशका खेलाडीले गोलमा परिणत गरे ।
सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।
बंगलादेशले तीन पटकको विजेता भारतलाई हराएको थियो । नेपालले भने समूह चरणका बंगलादेशलाई हराएको थियो । नेपाल आज बंगलादेशलाई हराउँदै तेस्रो पटक उपाधि जित्ने योजनामा छ । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उमेर समूहका प्रतियोगिता जितेको थियो ।बंगलादेश भने पहिलोपटक उपाधि जित्ने दाउमा छ ।
पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।
नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।