१४ भदौ, विराटनगर ।
इटालीका पूर्वगोलरक्षक जियानलुइगी बुफोन ‘युइएफए’को प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । बिहीबार फ्रान्सको मोनाकोमा आयोजित एक भब्य कार्यक्रमका बीच बुफोनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
युइएफएका प्रेसिडेन्ट एलेक्जेन्डर सेफरिनले सन् २०२४ को उक्त अवार्ड ४६ वर्षीय बुफोनलाई प्रदान गरेका थिए । साथै, सेफरिनले च्याम्पियन्स लिगका राजा मानिने क्रिस्टियानो रोनाल्डोलाई पनि विशेष अवार्डबाट सम्मान गरेका थिए ।
गत वर्ष नै खेलजीवनबाट सन्न्यासको घोषणा गरेका बुफोनलाई इटालीको फुटबल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘युइएफए’को प्रेसिडेन्ट्स अवार्डबाट सम्मान गरेको हो ।
फुटबलमा सफलता हासिल गरेका र व्यक्तिगत रूपमा पनि पृथक पहिचान बनाएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिँदै आएको छ ।बुफोनले करिब २८ वर्षजति इटालीसहित युरोपका विभिन्न क्लबहरूमा गोलरक्षकको भूमिका निभाएका थिए । सन् १९९५ मा इटालीबाट डेब्यु गरेका बुफोनले विश्वकपको उपाधिसमेत जितिसकेका छन् ।
इटालीका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीसमेत हुन्, बुफोन । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा उनले इटालीलाई उपाधि दिलाएका थिए । राष्ट्रका लागि १७६ खेल खेलेका बुफोनले पिएसजी र युभेन्टसहित तीनवटा क्बलबाट ९७५ खेल खेलेका छन् ।