१४ भदौ, विराटनगर ।
युरोपको सर्वाधिक ठुलो क्बल फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति फ्रान्सको मोनाकोमा आयोजित एक कार्यक्रमकाबीच च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको हो ।
यस सिजन च्याम्पियन्स लिगको स्वरूपलाई परिवर्तन भएको छ । यसअघिका सिजनहरूमा चार-चार क्लबको समूह बनाएर प्रतिष्पर्धा गराइने गरिएको थियो ।
तर, यसपालिदेखि भने सहभागी ३६ टिमले लिग चरणमा हरेकले आठ-आठ खेल खेल्नेगरी प्रतिद्वन्दी ड्र गरिएको छ । लिग चरणको खेलपछि शीर्ष आठ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन् ।
नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन् र प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन् । त्यस्तै लिग चरणमा २५औं स्थानदेखि पछाडि रहेका क्लबहरूले युइएफएअन्तर्गत यस सिजनका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन् ।
लिग चरणमा साविक विजेता रियल मड्रिडले जर्मनको बोरुसिया डर्टुमन्ड, इंग्ल्यान्डको लिभरपुल, इटालीको एसी मिलान र अटलान्टा जस्ता प्रतिद्वन्द्वी पाएको छ।
यस्तै, इंग्लिक क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), इटालीको इन्टर मिलान र युभेन्टसको सामना गर्ने भएको छ भने लिभरपुलले रियल म्यड्रिड, एसी मिलान जस्ता क्लबको सामना गर्ने भएको छ ।
स्पेनकै बार्सिलोनाले बायर्न म्युनिख, डर्टुमन्ड, अटलान्टा जस्ता प्रतिद्वन्दी पाएको छ । पिएसजीले बायर्न म्युनिख, एटलेटिको मड्रिड, आर्सनल जस्ता प्रतिद्वन्दी पाएको छ ।