१४ भदौ, विराटनगर ।
नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पुनः बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा रियलले लस पल्माससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पल्मासको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि अल्बर्ट मोलेरियोले गोल गरे भने रियलका भिनिसियस जुनियरले गोल फर्काए । घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो ।
खेलको पाँचौं मिनेटमा अल्बर्ट मोलेरियोले गोल गर्दै पल्मासलाई अग्रता दिलाएका थिए । खेलको ६९औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई बराबरीमा फर्काए । भिनिसियसले पेनाल्टीमा गोल गरेका थिए ।
उक्त खेलको निर्धारित समय मैदानमा बिताएका विश्वकप विजेता किलियन एम्बाप्पे भने फेरि ‘स्कोरलेस’ बने । उनले ला लिगामा अझै गोल गर्न सकेका छैनन् ।
यससँगै तीन खेल खेलेको रियलले पाँच अंक जोडेको छ । ऊ अंकतालिकाको पाँचौं स्थानमा छ ।