१४ भदौ, एजेन्सी ।
अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्ध पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अमेरिकी प्रहरीले २१ वर्षीया मुनाको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिंह शाहलाई पक्राउ गरेको थियो ।
पाण्डेको टेक्सासको हयुस्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई ह्युस्टन प्रहरीले बुधबार ट्राफिक जामको समयमा पक्राउ गरेको थियो । उनको नाम र तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।
त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शंकास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध साहलाई गिरफ्तार गर्न सफल भएका थिए ।ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका पुरुष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो । यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आँकलन गरिएको थियो ।
तर, प्रौढ उमेरका सिंहले के कारणले गर्दा मुनाको हत्या गरे भन्ने विषय भने खुलिसकेको छैन । अमेरिकी प्रहरीले यसबारे अनुसन्धान गरिररहेको छ ।
यता, नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।