१४ भदौ , काठमाण्डौ।
फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ ।
क्यानको विहीबार बसेको बोर्ड बैठकले संघको अनुशासन समितीले दिएको प्रतिवेदन क्यानको इन्टिग्रीटी समितीका संयोजकमार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
‘म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया बारे संघको अनुशासन समितिबाट प्राप्त प्रतिवेदनका सम्बन्धमा छलफल हुँदा उक्त प्रतिवेदन एवंम आवश्यक कागजातहरु क्यानको इन्टिग्रिटि समितिका संयोजक मार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पेश गरी आइसीसीबाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गर्ने सहमती गरियो,’ निर्णयमा भनिएको छ ।
गत वर्ष पुषमा सम्पन्न नेपाल टि२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट निलम्बनमा थिए । आरोप लागेपछि प्रहरीद्वारा पक्राउ परेका उनीसँगै पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आलम र नितेश गुप्ता ३ लाख धरौटीमा रिहा भएका थिए ।
गत चैतमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसहित सबै जनालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको थियो ।
अब क्यानले आइसीसीको निर्देशनपछि उनको निलम्बन फुकुवाबारे निर्णय गर्नेछ । आदिलले हालसम्म नेपालबाट ६ ओडीआई र ८ टि ट्वान्टी आई खेलेका छन् । उनले सन् २०२२ मा अमेरिकाविरुद्ध खेल्दै ओडीआईमा डेब्यू गरेका थिए । सोही वर्ष पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा टि ट्वान्टी आईमा डेब्यू गरेका थिए ।