१५ भदौ, विराटनगर ।
अन्ततः ओलम्पिकमा पदक जित्ने नेपालको लक्ष्य पूरा भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पाराओलम्पिक–२०२४ मा पलेशा गोबद्र्धनले कास्य पदक जितेसँगै ओलम्पिकमा पदक जित्ने नेपालको सपना पूरा भएको हो ।
तेक्वान्दोकी पलेशाले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी हुन् । शुक्रबार राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।
शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, शुक्रबार साँझतिर भएको क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी थिइन् ।
दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनले कास्य नजिक पुगेकी थिइन् । र, कास्यका लागि भएको भिडन्तमा पलेशाले सर्बियाका मारिजा मिचेभलाई पराजित गरिन् ।योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसयता नेपालले पाराओलम्पिकमा कुनै पनि ‘मेडल’ जित्न सकेको थिएन ।
त्यसबाहेक अरू ओलम्पिकमा पनि नेपालले अहिलेसम्म पदक जित्न सकेको थिएन । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । हुन त सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन । हालसम्म १६औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य थियो ।
तर, २१ वर्षीय पलेशाले कास्य पदक जित्दै नेपाललाई ओलम्पिकमा पहिलो मेडल दिलाएकी हुन् । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।
पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् । पलेशा करिब एक महिना बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएकी हुन् ।
पलेशाले चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छन् र प्रशिक्षणका लागि ६ महिनाको बिदा लिएकी छन् । उनले लामो समयदेखि सातदोबाटो खेलकुद कम्प्लेक्समा तालिम गरिरहेकी छन् । मार्सल आर्टस्मा सधैँ रुचि राखेकी उनले आमाबुबाको पनि सधैँ साथ पाइन् । स्कुले जीवनमा अवसर पाएपछि उनले तेक्वान्दो खेलको अभ्यासलाई निरन्तरता दिइरहेकी छन् ।
पाराओलम्पिकमा पदक जितेसँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।
यस्तै, रजत जित्नेलाई ९७ लाख र कांस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । यही व्यवस्थाअनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन् । यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यसबीचमा पलेशालाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाएको भन्दै राष्ट्रपति पौडेलल् पलेशाले जितेको कांस्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय रहेको बताएका छन् ।