१५ भदौ, विराटनगर ।
विराटनगरमा महिला क्रिकेट खेलाडीहरूको आत्मबल बढाउने उद्देश्यले एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । शनिबार विराटनगरको होटल स्वागतममा उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो । उनीहरूलाई क्रिकेट विथआउट बाउन्ड्रिजका हेड अनुगमन र मूल्यांकन प्रमुख युकेकी सरा बेगले प्रशिक्षण दिएकी थिइन् ।
उनी पिएचडी गर्न नेपाल आएकी हुन् । उनले महिला क्रिकेट क्षेत्रको विकास र लैंगिक समानतको पक्षमा अहिले रिसर्च गर्दै आएकी छन् ।
उनको नेतृत्वमा अहिले कोशी र मधेश प्रदेशमा महिला खेलाडी उत्पादन गर्नुको साथै खेलकुद क्षेत्रबाट उनीहरूलाई आत्मबल वृद्धि गराउन लागि परेको नेपाल क्रिकेट फाउन्डेसनका मन्दीप साहले बताए ।‘क्रिकेटको क्षेत्रबाट महिला खेलाडीहरूको सशक्तीकरण गराउनु उद्देश्यले पनि यो कार्यशाला गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा कस्तो कार्यक्रमहरू गर्न सकिन्छ । त्यसको योजना बनाउन महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरूका अभिभावकहरूलाई बोलाएर यो कार्यशाला गरिएको हो ।’