२० भदौ, विराटनगर ।
अनुभवी फुटबलर एन्जल डी मारिया अर्जेन्टिनी टोलीबाट बिदाइ हुने भएका छन् । विश्वकपको दक्षिण अमेरकी छनोटअन्तर्गत शुक्रबार बिहान हुने चिलीसँगको खेलअगावै अर्जेन्टिनाले उनलाई बिदाइ गर्न लागेको हो ।
१६ वर्ष अर्जेन्टिनाका लागि खेलेका डी मारियाले गत जुलाईमा सम्पन्न कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका उनलाई बिदाइ गर्न लागिएको हो ।
भोलि बिहान नेपाली समयअनुसार ५ः४५ बजे अर्जेन्टिनाले घरेलु मैदान मास मुन्डोमेन्टलमा चिलीसँग खेल्दै छ । उक्त खेलअगाडि दर्शकहरूबीच ३६ वर्षीय डी मारियालाई सहकर्मीहरूले कोपा अमेरिकाको ट्रफी बोकाएर बिदा गर्ने छन् ।
मारियाले दुईपटक अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका छन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेटिनाले स्वर्ण हात पार्दा उनले नाइजेरियाविरुद्ध गोल गरेका थिए । सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा उनले ब्राजिलविरुद्धको फाइनलमा गोल गरेका थिए ।कप्तान मेसीको अन्तर्राष्ट्रिय फुटबल सफलतामा डी मारियाले धेरै योगदान दिएका छन् । डी मारियाले अर्जेन्टिनाबाट १ सय ४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।