२० भदौ ,काठमाण्डौ।
नेपाली राजनीतिका प्रभावशाली नेता मानिन्छन्, एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । माओवादी शान्ति पूर्ण राजनीतिमा प्रवेश गरेयता देशको राजनीति यी दुई नेताकै वरिपरि घुमिरहेको छ । प्रचण्ड र ओलीको मिलनले नेकपाको जन्मसमेत भयो भने उनीहरूकै टकरावले एक जना सत्तामा र अर्को एक जना प्रतिपक्षीमा बसेर एकार्काविरुद्ध खरो उत्रिनुपर्ने अवस्था पनि आयो ।
२०७५ साल जेठ ३ गते पार्टी एकता गरेर एकै जहाजका दुई पाइलट बनेका ओली–प्रचण्ड समयसँगै कहिले राजनीतिक मित्र त कहिले तीव्र आलोचक बन्नुप¥यो । अहिले पुनः ओली र प्रचण्डको ‘दोस्ताना’ दुस्मनीमा बदलिएको छ भन्दा फरक नपर्ला । नेपाली कांग्रेससँग रातारात सहमति गरेर ओलीले आफूसँगको सहकार्य तोडेपछि रुष्ट बनेका प्रचण्ड अहिले प्रतिपक्षी बनेर सदनमा प्रस्तुत हुनुपरेको छ ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोे कार्यकाल चलाउने गरी ओली सत्तामा बसेका छन् । सत्ताबाट हट्नेबित्तिकैमौन जस्तै रहेका प्रचण्ड सरकार र खासगरी प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । विशेषगरी, प्रधानमन्त्री र एमालेले संविधानविपरीत गएर ‘जनयुद्ध’ लाई हिंसा भन्ने काम भएको भन्दै प्रचण्ड तुस पोखिरहेका छन् ।
बृहत्त शान्ति–सम्झौताविपरीत गएर ओली एन्ड ‘ओली कम्पनी’ ले अभिव्यक्ति दिइरहेको आरोप प्रचण्डको छ । नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र संघर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा ओलीको बदनीयत रहेको प्रचण्डको भनाइ छ । त्यसै विषयको पेरिफेरीमा रहेर प्रचण्डले संविधान संशोधनदेखि ठूला भ्रष्टाचार प्रकरणसम्म सरकारको कदमको तिखो आलोचना गरिरहेका छन् ।
दुई नेता ओली र प्रचण्डबीचको समयसँगै कहिले एकअर्काका तीव्र आलोचक त कहिले निकट राजनीतिक मित्रको सम्बन्ध देखिँदै आएको छ । कहिले एकअर्काको प्रशंसा गर्ने ओली र प्रचण्ड कहिले हानाहानमा उत्रिन खोज्छन् । एमाले र माओवादीको एकताबाट बनेको ‘नेकपा’ को अध्यक्ष र प्रधानमन्त्री दुवै हुँदा ओलीले प्रचण्डलाई साहसी नेता भन्दै उको प्रशंसा मात्रै गरेनन्, कांग्रेसको तीक्ष्ण आलोचना पनि गरेका थिए ।
त्यसबेला कांग्रेसले प्रतिक्रियावादीसँग घाँटी जोडेको आरोप लगाएका ओली अहिले उसैको बुइँ चढेर सत्ता आसीन छन् । पछिल्लोपटक डेढ महिनाअघिसम्म माओवादीसँगै सत्ता साझेदारी गरेका ओलीले कांग्रेससँग मिलेर सरकार हाँकिरहँदा प्रचण्ड–ओलीको सम्बन्धमा खस्रोपना आएको हो । हुन त सत्तामा हुँदा होस् वा प्रतिपक्षीमा रहँदा होस्, प्रायः प्रचण्डप्रति तिखो अभिव्यक्ति दिँदै आएका छन्, ओलीले ।
माओवादीको भूमिगतकालदेखि नै खरो आलोचकको रूपमा प्रस्तुत हुने ओली प्रचण्डविरुद्ध खनिन अझै छोडेका छैनन् । हालैमात्र उनीहरू एकअर्कालाई राउन्ड किक हान्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । बुधबार एमालेको पोलिटब्यूरो बैठक समापनका क्रममा ओलीले प्रचण्डप्रति आक्रोशित हुँदै राउन्ड किक हानेको बताएका थिए ।
ओलीले प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरेर उनलाई राउन्ड किक हानेको अभिव्यक्ति दिए । प्रचण्डबाट अनेक नाममा धोकाको राजनीति गर्ने बताउँदै ओलीले वाम एकताका लागि उनले गरेको प्रस्ताव पनि अस्वीकार गरेको दाबी गरे । प्रधानमन्त्रीमै बसेका नेताले राउन्ड किक हानेको कुरा सुनेका प्रचण्डले त्यसको प्रतिउत्तर फर्काए । ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’ प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै उनले जबाफ फर्काएका छन् ।