२० भदौ, विराटनगर ।
आगामी २०२६ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत बहराइनले अस्ट्रेलियालाई उसैको मैदानमा हराएको छ । बिहीबार भएको एसियन छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बहराइनले अस्ट्रेलियाले १-० गोलले हराएको हो ।
अस्ट्रेलियाको रोबिना स्टेडियममा भएको खेलमा बहराइनले आत्मघाती गोलका कारण जित पक्का गरेको हो । खेलको ८९औं मिनेटमा अस्ट्रेलियाका ह्यारी सौटरले आफ्नै पोस्टमा गोल गरेका कारण बहराइन विजयी भएको हो ।
यससँगै समूह ‘सी’ को बहराइनले तीन अंक जोडेको छ भने अस्ट्रेलिया अंकविहीन छ ।
सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।