२३ भदौ, एजेन्सी ।
इंग्ल्यान्डका अलराउन्ड मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । अस्ट्रेलिया सिरिजमा टिममा छनोट नभएपछि ३७ वर्षीय अलीले आइतबार सन्न्यासको घोषणा गरेका हुन् ।
अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अस्ट्रेलियासँग तीन टी-२० आई र पाँच ओडिआई सिरिज खेल्दै छ । इंग्ल्यान्डका प्रशिक्षक ब्रेन्डन एमसिकुलमले अस्ट्रलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउन्डर ड्यान मोस्लीलाई मौका दिएको छ ।
अली इंग्ल्यान्डका ओडिआई तथा टी–२० विश्वकप विजेता पनि हुन् । इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।
सन् २०१४ मा इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् । इंग्ल्यान्डका लागि सबै फर्म्याटमा ६ हजार ६ सय ७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।
उनले राष्ट्रका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । जसमा इंग्ल्यान्ड पराजित भएको थियो ।
आफूले इंल्यान्डका लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउँदो जेनेरेसनले खेल्ने समय भएको उनले उल्लेख गरेका छन् । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।
‘म ३७ वर्षको भए यसै महिना अस्ट्रेलिया सिरिजमा परिनँ । इंग्ल्यान्डबाट मैले धेरै क्रिकेट खेलेको छु । अब भनेको नयाँ पुस्ताको समय हो । यो सन्न्यास लिने सही समय हो,’ मोइन अलीले भनेका छन् ।