२३ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनका कारण नेपालको इज्जत बढेको बताएका छन् । पार्टी कार्यालय सानेमामा आइतबार पलेशलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले पलेशालाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।
पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गरे ।उनले भने,‘पलेशा गोवर्द्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस् । नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरूले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु ।’