२५ भदौ, विराटनगर ।
चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत तीन मिनेटभित्रै दुई गोल भएको खेलमा वेल्सले जित निकालेको छ । सोमबार राति भएको दोस्रो चरणको खेलमा वेल्सले मोन्टेनेग्रोलाई २-१ गोलले हराएको हो ।
मोन्टेनेग्रोको मैदानमा भएको खेलमा वेल्सका किफर मोरे र ह्यारी विल्सनले एक-एक गोल गरेका थिए । मोन्टेनेग्रोका ड्रिटन क्यामाजले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा मोरेले गोल गर्दै वेल्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै विल्सनले गोल गर्दै वेल्सको अग्रता दोब्बर बनाए ।
खेलको ७३औं मिनेटमा क्यामाजले गोल गरे पनि त्यो पर्याप्त भएन ।पहिलो जितसँगै वेल्सले दुई खेलमा चार अंक जोडेको छ । यसअघि वेल्सले टर्कीसँग गोलरहित बराबरी खेलेको थियो ।