२५ भदौ, काठमाडौं ।
राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार प्याराओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निःशुल्क स्वास्थ्य परीक्षण गरेर उक्त कार्यको थालनी भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबीच खेलाडीलाई निः शुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षीय सम्झौता कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता आज गरिएको हो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।हाल केन्द्रकै तर्फबाट नि:शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।
घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।