२५ भदौ, धनगढी ।
धनगढीस्थित सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका नेपाली मजदुरलाई भारतीय वन विभागले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरी रहेका छन् । वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन् । तर, उनीहरलाई वन विभागले किन पक्रियो भन्ने यथेष्ट जानकारी भने नेपाली पक्षलाई छैन ।
चन्दन चौकी बजार दुधुवा नेसनल पार्क क्षेत्रमा रहेको छ । सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए ।
पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपियाँ जरिवाना तोकेको बताइएको छ । वन विभागमा काम गर्ने शिवचरण रानाले दुवै कामदारलाई पक्रेको जनाइएको छ । रानाले सीमा क्षेत्रमा हिँड्दा पनि पक्राउ गर्ने गरेको भन्दै स्थानीयले ज्यादती बढेको बताएका छन् ।यसैबीच, कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नु हुने संघीय सांसद् गंगाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सदनमा बोल्दै उनले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी गराए ।