२५ भदौ, विराटनगर ।
ललितपुरमा जारी एन्फा महिला लिगअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश फराकिलो जित दर्ता गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरलाई १४-१ गोलान्तरले हराएको हो ।
जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो । यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम माथि नै ९ गोल गरेको थियो । सुदूरपश्चिमले त्यही एक गोल पनि उपहार पाएको थियो ।
आर्मीको जितमा दिपा शाहीको पाँच गोल गरिन् । खेलको छैटौं मिनेटमा आर्मीले विमला चौधरीको गोलमार्फत खाता खोलेको थियो। १५औं मिनेटमा हिमा चौधरीले अर्को गोल थपिन् । २१औं मिनेटमा शान्ति विकले आत्मघाती गोल गर्दा नै आर्मीले ४-० को अग्रता लिइसकेको थियो ।
त्यसपछि दिपाले २४ र ३०औं मिनेटमा दुई गोल थपिन् । त्यसको पाँच मिनेटअघि नै चन्दा भण्डारीले अर्को गोल गरिसकेकी थिइन् । ४५औं मिनेटमा सन्जु कुमालले अर्को गोल थप्दा इन्जुरी समयमा दिपाले ह्याट्रिक पूरा गरिन् । पहिलो हाफमै आर्मीले ८-० को अग्रता लिएको थियो ।त्यसपछि दिपाले ५३ र ६१औं मिनेटमा दुई गोल थप्दै व्यक्तिगत पाँच र टोलीका लागि १० गोल पुर्याइन् । ६३औं मिनेटमा विमला विकले पनि गोल थपिन् । तर, ६७औं मिनेटमा निलम सिंहले आत्मघाती गोल गर्न पुग्दा सुदूरपश्चिम ११-१ को स्थितिमा पुगेको थियो ।
८१औं मिनेटमा अनिता लम्जेल र ८७औं मिनेटमा सावित्रीदेवी मगरले गोल गरिन् । इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले १४-१ को फराकिलो जित हात पारिसकेको थियो ।