२६ भदौ, एजेन्सी ।
फिफा विश्वकप छनोटअन्तर्गत कोलम्बियासँगको खेलमा हारेपछि रिसाएका अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नो व्यवहारबाट आलोचित बन्नुपरेको छ । बुधबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो ।
कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । दुई महिनापछि कोलम्बिया र अर्जेन्टिनाले फेरि एकपटक खेलेका थिए, जसमा कोलम्बियाले अर्जेन्टिनासँग बदला लिएको थियो ।
पछिल्ला १२ खेलमा अपराजित रहेको अर्जेन्टिना कोलम्बियासँग हारेपछि पाहुना टोलीका गोलरक्षक मार्टिनजेले टिभी क्यामेरामा हिर्काएका थिए । खेल सकिएर मैदानबाहिर निस्कँदै गरेका मार्टिनेजले झापड हानेर क्यामेरा चौरमा झारिदिए । खेल प्रसारण गरिरहेको क्यामरामा क्षति पुग्नेगरी हिर्काएपछि उनले आलोचित बन्नुपरेको हो ।
घरेलु मैदानमा कोलम्बियालाई जिताउन यर्सन मस्क्युरा र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरे । अर्जेन्टिनाका निकालेस गोन्जालजले एक गोल गरे । हारे पनि शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग १८ अंक छ भने कोलम्बियासँग १५ अंकसहित दोस्रो स्थानमा छ ।