२६ भदौ, काठमाडौं ।
साउन महिनायता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको हो ।
गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । महशाखाका अनुसार १५ साउनयता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको छ । विशेषगरी साउन र भदौ महिनामा जेइको संक्रमणदर उच्च हुन्छ ।
संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् । जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन् । उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्छ ।