२८ भदौ, एजेन्सी ।
फुटबल मैदानमा मात्र नभएर बाहिर पनि कीर्तिमान बनाउन पल्किएका क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाएका छन् । हालैमात्र ३९ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोले सबै प्रकारका सामाजिक सञ्जालमार्फत एक अर्ब फलोअर्स बनाएका हुन् ।
पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डोसँग सामाजिक सञ्जाल ‘एक्स’ (पूर्वट्विटर) मा सय मिलियन फलोअर्स छन् । ‘मिस्टर च्याम्पिन्स’ले परिचित रोनाल्डोलाई इन्स्टाग्राममा ६ सय मिलियन प्रयोगकर्ताले पछ्याउँछन् । फेसबुकमा एक सय ७० मिलियने प्रयोगकताले रोनाल्डोलाई पछ्याउँछन् ।
हालैमात्र रोनाल्डोले युट्युबमा आफ्नो च्यानल बनाएका थिए, जसबाट उनले विभिन्न ‘रेकर्ड’ आफ्नो नाममा सारे । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले युट्युबमा ६० मिलियन सब्स्क्राइबर बनाएका छन् । सबैखाले सामाजिक सञ्जालमा आफ्नो प्रभावशाली उपस्थिति जनाएका रोनाल्डोले एक बिलियन फलोअर्स कमाएका हुन् ।
युट्युबसहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आम्दानीसमेत गर्छन् । फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरिदिएबापत उनले करोडौं कमाउँछन् । झन्, युट्युबमा सक्रिय बन्दा सामाजिक सञ्जालबाट आउने रोनाल्डोको आम्दानीमा उत्तिकै बढोत्तरी भएको छ ।
सामाजिक सञ्जालमा एक बिलियन फलोअर्स कमाएपछि रोनाल्डोले आफ्ना समर्थक र शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । पोर्चुगलको मडेइरामा जन्मेर सानै उमेरदेखि फुटबल यात्रा थालेका रोनाल्डो आज सर्वकालीन महान् खेलाडीमध्येका एक हुन् ।
‘एक अर्ब फलोअर्स । यो एउटा नम्बरभन्दा पनि धेरै थोक हो । मेरो खेलप्रति र मप्रतिको समर्थकहरूको माया हो । मडेइराको सडकबाट विश्वका ठुला–ठुला मैदानसम्म, मैले मेरो परिवारका लागि खेलेको हुँ र तपाईंहरूका लागि खेलेको हुँ,’ उनले एक्समा भनेका छन्, ‘हामीले एउटा नयाँ कीर्तिमान बनाएका छौं । मेरा हरेक पाइलाहरूमा तपाईंहरूको साथ छ ।समकालीन फुटबलका हस्ती रोनाल्डोले भावुक हुँदै आफ्नो यात्राबारे उल्लेख गरेका छन् । हालैमात्र रोनाल्डोले करिअरको नौ सय गोलको कोशेढुंगा पूरा गरेका थिए । युरोपियन नेसन्स लिगमा क्रोएसियासँगको खेलमा गोल गरेसँगै नौ सय गोल पूरा गरेका रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट व्यवसायिक फुटबल थालेर म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस हुँदै अहिले अल नासरका लागि खेलिरहेका छन् ।
पाँच पटक बालोन डी‘ओर जस्तो प्रतिष्ठित अवार्ड जितेका रोनाल्डोले जम्माजम्मी ३३ वटा ट्रफी उचालेका छन् । विश्व फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गरेका उनले पाँच पटक च्याम्पियन्स लिग पनि जितेका छन् । राष्ट्रका लागि युरो कप र नेसन्स लिग जितेका रोनाल्डोले विश्वकपको ट्रफी भने जित्न बाँकी छ ।
उमेरले चार दशक पूरा गर्न आँटे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्न्यास लिने मनसायमा पनि छैनन् । उनको यो तत्परताले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकप फुटबल खेल्ने संकेत गर्छ ।