पहिरोमा दम्पत्ति घाईते, बालिकालाई बेपत्ता, कर्णाली सर्तकता पार

२७ भदौ ८१, शुक्रबार

२८ भदौ , काठमाण्डौ ।

सुदूरपश्चिम प्रदेशमा भइरहेको भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । बुधवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि के आईसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

Advertisement

यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न पनि आग्रह गरेको छ।

अहिले पहिरो हटाउने र सडक सुचारु गर्ने क्रम जारी छ । त्यस्तै पहिरोमा पुगिएर दम्पती घाइते भएका छन् । गए राति घरमाथि खसेको पहिरोमा पुरिएर डोटी बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय श्रीमती भागरथी जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्य भट्टले जानकारी दिए ।

Advertisement

घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएका थिए । दुवै जनालाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । प्रहरीका अनुसार तुलारामको अवस्था मध्यम छ भने भागरथीको अवस्था गम्भीर रहेको छ । पहिरोमा पुरिएर दर्जन बढी खसीबोका र गाई गोरु मरेको प्रहरीले जनाएको छ ।

डोटीमै खोलाले बगाउँदा केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द बेपत्ता भएकी छन् । वाइल बजारमा दूध पु¥याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

पछिल्लो ६ घण्टामा कैलालीका धेरै स्थानमा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ ।नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २८ बिहान ८ः३० । पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएको, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ र सतर्कता–खतरा आसपास, बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा हुनेहरू साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ।

पहाडी जिल्लामा पहिरोले जनजीवन प्रभावित हुँदा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बाढीले जनजीवन प्रभावित भएको छ । अहिलेसम्म बाढीले ठुलो क्षति नपुराए पनि स्थानीयहरू सुरक्षित स्थानमा जाने क्रम जारी छ । कैलालीको दक्षिण क्षेत्रको बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेहरू उच्चो क्षेत्रमा जान थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले यस अघि नै बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थलमा रहन सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले पानी केही कम भएको भन्दै बाढीले ठुलो क्षति नभएको जानकारी दिएका छन् ।

कैलालीस्थित कर्णाली नदी शुक्रबार बिहान सतर्कता तह पार भएको छ । चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढेको छ ।

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज र भोलि कर्णाली, पश्चिम सेती, महाकाली र बबई र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । भोलि ती नदीहरूको जलसतह सतर्कतादेखि खतरा तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

यस दिन बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको उच्च जोखिमको पूर्वानुमान गरिएको छ । दाङ, बाँके, सल्यान, सुर्खेत, जाजरकोट, कालीकोट, दैलेख, अछाम, बाजुरा, बझाङ भई बहने केही साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ ।

दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पश्चिम, जुम्ला, हुम्ला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top