२९ भदौ, झापा ।
झापाको अर्जुनधारा नगरपालिकामा प्रेमीको छुरा प्रहारबाट प्रेमिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई हाल बिर्तामोडमा बस्दै आएकी १९ वर्षीया मनिषा लोहार रहेको झापा प्रहरीले जनाएको छ ।
शुक्रबार साँझतिर अर्जुनधारा- ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा प्रेमीले छुरा प्रहार उनको मृत्यु भएको हो । हिजो साँझ ६ बजेर ४० मिनेटमा मनिषालाई उनका प्रेमी कैलाली गौरीगंगा नगरपालिका ३ बस्ने २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका हुन् ।
उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा निधन भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
यता, मनिषालाई छुरा हानेर हत्या गर्ने विकको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।
उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।