२९ भदौ, एजेन्सी ।
भारतको जम्मु-कश्मीरको किश्तवाडस्थित चतारुमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको मुठभेडको क्रममा दुई सैनिकको मृत्यु भएको छ ।
गएराति भएको उक्त मुठभेडमा हृवाइट नाइट कर्पसका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंहको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । घाइते थप दुई सैनिकको उपचार भइरहेको छ ।
चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश-ए-मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको गुप्तचर सूचनापछि सुरक्षा बलले खोज अभियान सुरु गरेको थियो । त्यसपछि मुठभेड सुरु भएको बताइएको छ । उक्त क्षेत्रमा दुवै पक्षबीच मुठभेड अझ जारी रहेको बताइएको छ ।
विधानसभा चुनावको सन्दर्भमा डोडामा प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभा हुनुभन्दा केही घण्टाअघि उक्त घटना भएको बताइएको छ ।
आक्रमण स्थलदेखि डोडाको दुरी करिब २० किलोमिटर रहेको छ । त्यस्तै गएराति बारामुलाको चक टेप्पर क्रिरी पट्टन क्षेत्रमा पनि सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको त्यहाँको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत १८ सेप्टेम्बरमा मतदान हुँदैछ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको भने र सुरक्षा व्यवस्थालाई हाई अलर्टमा राखिएको बताइएको छ ।