२९ भदौ, विराटनगर ।
आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडीको टुंगो लागेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आठ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।
जसअनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।
एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् । क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो ।
तर उक्त लिग खेल मिलेमतो र आर्थिक अनियमितिता लगायत विषयमा विवादित बनेपछि क्यानले त्यसलाई रद्द गरेर आफैं एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।