३० भदौ, झापा ।
अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दीलाई उनकै श्रीमतीले भगाएकी छन् । अस्पतालबाट श्रीमतीको साथ लागेर फरार हुने भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह हुन् ।
साहलाई गत भदौ ५ गते झापा जिल्ला अदालतले जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि झापा कारागारमा चलान गरेको थियो । १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा काागार चलान भएका उनी आइतबार बिहान साढे ३ बजेतिर अस्पतालबाट भागेका हुन् ।
साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट उनी फरार भएको अस्पतालको सिसीटिभी फुटेजमा देखिन्छ । सिसिटिभी फुटेज हेर्दा स्कुटरमा आएकी आफ्नी श्रीमतीलाई पछाडि राखेर उनले स्कुटर कुदाएका थिए । साह फरार हुँदा हतकडी लगाएको थिएन ।
निमोनिया भएपछि साहलाई भदौ २५ गते बिहान मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाइ पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । ओमसाइको दोस्रो तलको दुई नम्बर क्याबिनमा साह उपचारका लागि बसेका थिए ।उनको सुरक्षाका लागि अस्पतालमै सहायक हवलदार र प्रहरी जवान गरी दुई जना सुरक्षाकर्मी खटाइएको थियो । साह फरार भएको बेला अस्पतालमा प्रहरीसँग लफडा परेको थियो । दुई प्रहरीमध्ये एकजनाले मादक पदार्थ सेवन गरेर एक नम्बर क्याबिन ढकढकाएपछि लफडा भएको थियो । सोही मौका छोपी साह फरार भएका हुन् ।