३१ भदौ, काठमाडौं ।
सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा मात्रै उनी संलग्न रहेको भेटिएपछि रास्वपा सभापति रवि लामिछानेलाई कारबाहीको सिफारिस नगरेको पाइएको छ ।
सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारवाही सिफारिस नगरेको पाइएको हो ।
समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ ।
गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीन जनाको हस्ताक्षर चल्ने गरी खाता खोलिएको थियो । उनीहरूमध्ये एक जनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो ।
स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलबभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रबन्ध निर्देशक भएकाले रविले नै अधिकांश चेकमा हस्ताक्षर गरेका थिए ।
‘रविले सहकारीको रकम निकालेर व्यक्तिगत रूपमा हिनामिना गरेको नभेटिएनको एक सदस्यले बताएका छन् ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले रविलाई बयान लिएको थियो ।
गत जेठ १५ गते एमालेका सूर्य थापाको संयोजकत्वमा बनेको छानबिन समितिले रविसहित सहकारी प्रकरणमा मुछिएका विभिन्न व्यक्तिहरूसँग बयान लिएको थियो ।
सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।
गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जिवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाउँदै आएका रवि टिभीबाट राजीनामा दिएर राजनीतिमा हानिएका थिए । रास्वपाको स्थापना गरेर पार्टीलाई सदनमा २१ सिट संख्या दिन सफल भएका थिए, लामिछाने ।