१७ असोज , एजेन्सी ।
जापान दोस्रो विश्व युद्धमा सबैभन्दा नराम्ररी प्रभावित भएको देश हो । जसले अमेरिकाका दुई शक्तिशाली आणविक बमको सामना गर्नुपरेको थियो । दोस्रो विश्वयुद्धमा बम र बारुद्धबाट लाखौंको मानवीय क्षति ब्यहोरेको जापानले अहिलेसम्म त्यसको असर भोगिरहेको छ ।
बुधबार मात्रै जापानी विमानस्थलमा अमेरिकी बम अचानक विस्फोट भएको छ । यो बम दोस्रो विश्वयुद्धको समयको रहेको अनुमान गरिएको छ । बम विस्फोटले विमानस्थलको ट्याक्सीवेमा ठूलो खाडल बनेको छ ।
जसका कारण यहाँ ८० भन्दा बढी उडान रद्द गर्नुपरेको छ । विष्फोटमा कोही पनि घाइते नभएको जापानी अधिकारीहरुले बताएका छन् । यसबारे भूमि तथा यातायात मन्त्रालयका अधिकारीहरूले दक्षिण–पश्चिम जापानको मियाजाकी विमानस्थलमा बम विस्फोट हुँदा त्यहाँ कुनै विमान नभएको बताएका छन् ।
अधिकारीहरूले सेल्फ डिफेन्स फोर्स र प्रहरीले गरेको अनुसन्धानले विस्फोट ५०० पाउण्डको अमेरिकी बमबाट भएको खुलासा गरेको बताएका छन् । तर, अहिले कुनै खतरा छैन ।
अकस्मात विष्फोट के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । यो दुर्घटना एक उड्डयन विद्यालयबाट रेकर्ड गरिएको भिडियोमा देखिएको छ । विष्फोटका कारण टुक्राहरु फोहराजस्तै हावामा उफ्रिरहेको देखिएको थियो ।
जापानी मिडियाका अनुसार प्रसारित भिडियोमा ट्याक्सीवेमा गहिरो खाडल देखिन्छ । त्यसलगत्तै जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले विमानस्थलमा ८० भन्दा बढी उडानहरू रद्द गरिएको जानकारी दिएका छन् ।
उनले एक दिनपछि पुनः उडान सञ्चालन हुने बताएका छन् । विश्वयुद्धमा जापानले हतियार राखेको थिएन । हारे पनि उसले हार मानेन । यसपछि अगस्ट ६, १९४५ मा अमेरिकाले जापानको हिरोसिमा सहरमाथि उडान भरेर बम्बरबाट परमाणु बम खसालेको थियो ।
उक्त बमको नाम लिटिल ब्वाई थियो । यो बम सहरभन्दा ६०० मिटर माथि नै विस्फोट भएको थियो । यस विस्फोटमा ७० देखि ८० हजार मानिसले ज्यान गुमाएका थिए ।
तर, त्यसको तीन दिनपछि ९ अगस्ट १९४५ मा अमेरिकाले नागासाकीमा दोस्रो परमाणु बम ‘फ्याट म्यान’ खसालेको थियो । जसबाट ९० हजार देखि १ लाख ६६ हजारसम्म मानिसहरु हताहती भएको अनुमान छ ।