१८ असोज , काठमाण्डौ ।
बाढीपहिरो तथा डुबानका कारण हालसम्म २३९ को मृत्यु तथा १९ जना अझै वेपत्ता रहेर नेपालीहरुले राष्ट्रिय विपद्को सामना गरिरहँदा दशैंको मुखमा आज फेरि अर्को यात्रुबाहक गाडी दुर्घटनामा परेको छ ।
आज विहानै सिन्धुलीको कमलामाईमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौँबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका– ८ भिमान नजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा माइक्रोका चालकसहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ‘घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी गोविन्द काफ्लेले भने, ‘बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन्।’
दुर्घटनामा माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए । माइक्रोमा १९ जना सवार थिए । तीमध्ये चार जना सकुशल छन् । चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।
माइक्रो सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ । यसरी कहिले बाढीपहिरोका कारण त कहिले मानविय कमजोरी वा सवारीको खराब कण्डिसनका कारण पछिल्लो समय दिनहुँजसो सवारी दुर्घटना हुन थालेका छन् ।
यद्यपि अहिले सडकको अवस्था हेरेर र मौसम हेरेरमात्रै यात्रा गर्न सरकारले नै अपिल समेत गरिरहेको छ । यो दुखद दुर्घटनासंगै अब मौसमबारे पनि जानकारी ।देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा गएराति र बिहान पनि पानी परेको छ । यस्तै आज कोशी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका गरेका छन् ।
अहिले पनि देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
सोही कारण कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा उल्लेख्य वर्षा भएको छ । इलामको टी इस्टेटमा ६५.८, विराटनरमा ४९.६, सुनसरीको तरहरामा ४४.२, भोजपुरमा ४२.४ मकवानपुरको हात्तीसुँढेमा ७०, मकवानपुरको गढीमा ६१.२, नवलपरासीको दुम्कौलीमा ४७.६, कास्कीका ६५, लुम्लेमा ५३.६ मिलिमिटर पानी परेको छ ।
यसैबीच असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि बढेका नदीहरूको अवस्था सामान्य हुँदै गएको छ । आज बिहान गरिएको मापनअनुसार, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाब पनि सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ । आज झन्डै २७ जिल्लामा नदीहरूको बहाब घटबढ हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, कास्की, तनहुँ, पाल्पा, स्याङ्जा र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको जलसतह आकस्मिक घटबढ हुन सक्ने पूर्वानुमान छ ।
भोलि कोसी प्रदेश र वाग्मती प्रदेश भएर बहने केही ससाना नदीहरूमा बहाब बढ्ने पूर्वानुमान गरिएको छ । पर्सि शनिबार भने देशभरका नदीहरूको बहाब सामान्य अवस्थामा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर १९ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएका छन् ।
प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ । बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उनले बताए । बाढीपहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।