२१ असोज ,काठमाण्डौ।
नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएपनि हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जाारी गरेको बुलेटिनमा उल्लेख छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच मौसमविद्ले देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको बताएका छन् ।
तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको पनि उनीहरुको भनाइ छ । महाशाखाका मौसमविद रोजन लामिछानेले दिएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उनले बताएका छन् । उनका अनुसार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै हो ।
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन हिजो बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
मनसुन बाहिरिन थालेपछि दशैँका मुख्य दिनमा झरीको सम्भावना टरेको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।
एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको हो । नेपालमा पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण क्रमश चिसो बढ्दै जाने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।
नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ।