नेपाली र अमेरिकी समलिंगी पुरुषको हिन्दु र क्रिश्चियन विधिमा विवाह

२५ असोज ,काठमाण्डौ।

नेपाली र अमेरिकी युवकको एक जोडीले बिहीबार समलिंगी विवाह गरेको छ। नेपाली युवक प्रजित बुढाथोकी र अमेरिकी जोय फोस्टर एलिस वैवाहिक सम्बन्धमा बाँधिएका हुन् । २७ वर्षीय बुढाथोकी धरानका हुन् भने ३० वर्षीय एलिस अमेरिकाको न्युयोर्कका हुन्।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को कार्यालयमा कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका प्रजित र जोसेफले काठमाडौंमा वैवाहिक समारोह गरेका हुन्। नेपाली समलिङ्गी, तेस्रो लिङ्गी जोडीको यसअघि पुरुष र महिलाको जस्तै विधि पु¥याएर वैवाहिक समारोह भए पनि नेपाली र अमेरिकी समलिङ्गी जोडीको यो नै पहिलो औपचारिक वैवाहिक समारोह भएको निरहिरा समाजले जनाएको छ ।

नेपालको वैवाहिक परम्परा अनुसार नै पण्डित शिवराज रेग्मी र शिव सत्यालले दुबैलाई जग्गेमा बसाले। होमहोमादी गराए। विवाह मण्डप घुमाए। दुवैले एकअर्कालाई माला र टीका लगाइदिए। विधि पु¥याएर दुवैलाई आर्शीवाद दिए। अमेरिकी समलिङ्गी पुरुष हुन जोसेफ।

कानुनी रूपमा प्रमाणपत्र पाएका जोसेफको चाहना नेपाली परम्परा अनुसार विवाह गर्ने थियो। त्यसको चाँजोपाँजो एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले मिलाइदिएका थिए । पन्तले अभिभावकको भूमिका निभाए।

 

पन्तको पहलमा दक्षिण एसियामा पहिलो र एसियाको दोस्रो समलिङ्गी विवाहले कानुनी मान्यता पाइसकेको छ। बिहीबार काठमाडौँको नक्सालमा भएको वैवाहिक कार्यक्रममा दुई ब्राम्हणले हिन्दु धार्मिक संस्कारअनुसार मन्त्रोच्चारण गरी विवाहको विधि पु¥याउन सहयोग गरेका थिए।

त्यसलगत्तै क्रिस्चियन धर्मगुरुसामु उनीहरूले औँठी साटासाट गर्दै विवाहको शपथ पनि लिए। अनि ती धर्मगुरुले दम्पती घोषणा गरी सफल वैवाहिक जीवनका लागि आशिर्वाद प्रदान गरे। उनीहरूले यस विवाहलाई नेपाली–विदेशी नागरिक भएर गरेको पहिलो वैधानिक समलिंगी विवाह भनेका छन्।

उनीहरूले धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयमा समलिंगी विवाह दर्ताको प्रक्रिया सम्पन्न गरेपछि धार्मिक संस्कारअनुरुप विवाह गरेको बताएका छन्। उनीहरूले विवाहका लागि पशुपतिनाथ क्षेत्रबाट दुईजना ब्राम्हण बोलाएका थिए।

सर्वोच्च अदालतले लैंगिक अल्पसंख्यकको विवाह पञ्जीकरणका लागि अलग्गै बहीखाता राख्न सर्वोच्च अदालतले आदेश दिएपछि स्थानीय तहमा यो विवाह दर्ताको प्रक्रिया सम्भव भएको उनीहरूले बताएका छन्।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाका सुरेन्द्र पाण्डे र माया गुरुङले समलिंगी विवाह दर्ता गराएका थिए। लैंगिक अल्पसंख्यकहरूको पक्षमा काम गर्दै आएको सामाजिक संस्था नीलहीरा समाजले प्रजित र जोयको जोडीको यस सफलतालाई प्रेमको जित भनी टिप्पणी गरेको छ।

साथै यस घटनालाई कोशेढुंगाका रुपमा अर्थ्याउँदै नेपालमा विवाहको समानताको वकालतलाई थप प्रेरित गर्ने अपेक्षा गरेको उक्त संस्थाले उल्लेख गरेको छ। वैवाहिक कार्यक्रमको तस्बिरसमेत सार्वजनिक गरी उक्त संस्थाले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘आज नील हिरा समाजले नवविवाहित जोडी प्रजित र जोईसँग अन्तर्क्रिरया गर्ने र बधाई दिने अवसर पाएको छ। प्रेममा पर्ने, आत्मा खोज्ने र विवाहको यो महत्त्वपूर्ण कोशेढुंगामा पुग्नका लागि चुनौतीहरू पार गर्ने उनीहरूको सुन्दर यात्राले हामीलाई गहिरो प्रभाव पारेको छ र नेपालमा विवाह समानताको लागि हाम्रो वकालतलाई प्रेरित गरेको छ।’

पन्तले नेपाल सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले २०६४ पुस ६ (२१ डिसेम्बर,२००७)मा दिएको निर्देशनात्मक आदेश समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गी नागरिकको पहिचान सहितको अधिकारका लागि ऐतिहासिक मानिन्छ।

छिमेकी देश भारत सहित अमेरिका, बेलायत सहित पश्चिमा देशहरूमा २०६४ को आदेशलाई नजिरका रूपमा समेत लिने गरिएको छ। २०६४ कै आदेशलाई नजिरका रूपमा लिएर १२ असार २०८० मा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको आदेश र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले १३ मङ्सिर २०८० मा कानुनी रूपमा विवाह दर्ता गरेका थिए।