२५ असोज , काठमाण्डौ ।
नेपाल र नेपालीको ठुलो पर्व दशैंले देशमा रौनक छाएको छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिताले भने नेपालको ठूलो चाड दशैँ भन्दैन । खेलाडीहरूले देशका लागि दशैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ ।
यसपालि कराँतेकी खेलाडी एरिका गुरुङसहित उनको टिम विश्व कराँते च्याम्पियनसिप खेल्न इटालीमा छ । यस्तै, नेपालको यु–२० पुरुष भलिबल टिम श्रीलंकामा काभा यु–२० भलिबल च्याम्यिनसिपमा व्यस्त छ ।
अरू केही खेलाडी पनि दशैँमा नेपालको प्रतिनिधित्व गर्न देशबाहिर छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग २का लागि क्यानडाबाट अमेरिकामा पुग्दैछ । दशैँमा घरेलु खेलकुद भने ठप्प हुन्छ ।
दशैँमा सबै जसो खेलाडी, खेलकर्मी आआफ्ना परिवार र साथीभाइसँग रमाउने गर्छन् तर नेपालको ‘हाइप्रोफाइल’ टिम महिला फुटबल टोलीका सदस्यले दसैँ राम्रोसँग मनाउन नपाउने भएका छन् ।
साफ महिला च्याम्पियनसिप–२०२४ को तयारीमा रहेको नेपाली महिला फुटबलरहरू दशैँमा पनि प्रशिक्षणमा व्यस्त हुने छन् । घरेलु मैदानमा हुने खेलका लागि तम्तयार रहनुपर्ने भएकाले उनीहरूले दसैं राम्रोसँग मनाउन नपाउने भएका हुन् ।
नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो ।नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिमको अभ्यास दशैँमा पनि जारी रहने बताउँछन् ।
यसपालि जसरी भए पनि साफ च्याम्पियन बन्ने लक्ष्यमा छ नेपाली टिम । यसका लागि तयारी पनि राम्रो भइरहेको छ । महिला लिगमा सक्रिय हुँदा सबै खेलाडी राम्रो म्याच प्राक्टिसमा पनि छन् । शुक्रबार अभ्यास गरेर खेलाडीहरू आ–आफ्ना घर जान्छन् र शनिबार टीका लगाएर आइतबार पुनः प्रशिक्षणमा फर्कन्छन् ।
नेपाल अहिलेसम्म साफ महिला फुटबल च्याम्पियन बन्न सकेको छैन । यद्यपि नेपालले छ संस्करणमध्ये पाँच पटक फाइनल खेलेको छ । पछिल्लो संस्करणमा नेपाल उपाधि भिडन्तमा बंगलादेशसँग स्तब्ध भएको थियो ।
अरू चार पटक नेपाललाई फाइनलमा भारतले निराश बनाएको थियो । त्यसैले पनि यस पटक कात्तिक १ देखि १४ सम्म दशरथ रंगशालामै हुने साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा च्याम्पियनभन्दा कमको उपलब्धिमा चित्त नबुझाउने सोचाइमा प्रशिक्षक तामाङ छन् ।
पछिल्लो संस्करणमा तामाङ सहायक प्रशिक्षक थिए । प्रशिक्षक तामाङलाई दशैँको एक दिन बिदामा पनि खेलाडीको ‘डाइट प्लान’ बिग्रेला भन्ने डर छ । दसैँको माहोलमा अस्वस्थकर खानेकुरा खाएर फिटनेसमा समस्या आउला भन्ने चिन्ताले उनलाई सताएको छ ।
तथापि, खेलाडीले दशैँभन्दा पनि साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाउनु ठुलो हो भन्ने बुझेकोमाप्रशिक्षक तामाङ ढुक्क छन् । प्रशिक्षक तामाङले चार दिनअघि बन्द प्रशिक्षणमा रहेका २७ जनाको नाम सार्वजनिक गरेका थिए ।
यी खेलाडीमध्येबाट अन्तिम टिमको घोषणा गरिने छ । प्रारम्भिक चरणमा ४० जना बन्द प्रशिक्षणमा थिए । नेपालका प्रमुख स्ट्राइकरद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल भने टिमसँग प्रशिक्षणमा छैनन् ।
यी दुवै विदेशमा व्यावसायिक फुटबलमा व्यस्त छन् । रेखा अहिले एफसी महिला च्याम्पियन्स लिग आबुधाबी क्लब र सावित्रा फ्रेन्च लिगमा गुइनगाम्पमबाट खेलिरहेका छन् । यद्यपि दुवै साफ महिला च्याम्पियनसिपमा खेल्न नेपाल आउने बताइएको छ तर सावित्रा सुरुका खेलमा सहभागी हुन नसक्ने सम्भावना छ ।
प्रतियोगितामा नेपालको पहिलो खेल कात्तिक २ गते भुटानसँग परेको छ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग कात्तिक ५ गते र समूह चरणमा तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग कात्तिक ८ गते प्रतिस्पर्धा गर्ने छ ।
यसै गरी समूह ‘ए’ मा गत विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।