२५ असोज , काठमाण्डौ।
दुई हप्ताले बन्द रहेर आजदेखि संचालनमा आएको बीपी राजमार्ग फेरि अबरुद्ध भएको छ । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोले एउटा बस र सुमोलाई समेत पुरेको छ ।
काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोले सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई धकेली २० मिटर तल पु¥याएको प्रहरीले जनाएको छ ।
यस्तै खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पनि पहिरोले पुरेको प्रहरीको भनाई । सुमोको पछाडि भागमा मात्रै देखिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
अहिले दुबैतर्फ सडक अवरुद्ध भएकाले यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्रयाक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौंतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि, मानवीय क्षति भएको छैन ।
अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ । सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताएका छन् ।
गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेकोमा बिहान ८ बजेदेखि सडक खुलेको थियो ।
यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो ।