२९ असोज, एजेन्सी ।
जर्मनीले कुकुरबाट मनग्गे फाइदा लिएको खबर सार्वजनिक भएको छ । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो ।
यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरको थियो । जर्मनीमा कुकुर पाल्ने चलन कत्तिको लोकप्रिय बन्दै गएको छ भन्ने कुरा पछिल्लो दशकको कर अभिलेखमा देखिन्छ ।
सन् २०१३ देखि २०२३ सम्म यस करबाट राज्यको आम्दानी ४१ प्रतिशतले बढेको छ । जर्मन पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसनले जर्मन घरहरूमा बस्ने कुकुरहरूको कुल संख्या गत वर्षको तुलनामा १० मिलियन भन्दा बढी रहेको अनुमान गरेको छ ।
यो संख्या यो वर्ष अझै बढ्ने अनुमान गरिएको छ । समाचार एजेन्सी डीपीएका अनुसार, जर्मनीको प्रत्येक दोस्रो घरमा औसतमा एउटा घरपालुवा जनावर छ । सबैभन्दा लोकप्रिय घरपालुवा जनावरहरूको सूचीमा कुकुर पहिलो स्थानमा छ ।