रविको पक्ष लिएर विपक्षी नेताहरु ओलीमाथि बेस्सरी खनिए

५ कात्तिक ८१, मंगलबार

६ कार्तिक , काठमाण्डौ।

सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाँदा बालुवाटारमा निकै भनाभन भएको छ ।

हुन त दलहरु झण्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार सरकारले काम नगरेको भन्दै झकझकाउन गएका थिए, तर त्यहाँ हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको विषयलाई लिएर विपक्षी दलहरुको आक्रोशमा परे प्रधानमन्त्री ओली ।

Advertisement

ज्ञपानपत्र लिएर जानेका प्रचण्डसंगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका उपसभापति डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेता थिए । जोसंग प्रधानमन्त्री ओलीको भनाभन चल्यो ।

अन्य प्रतिपक्षी दलका नेताहरुका साथ बालुवाटार पुगेका प्रचण्डले ‘लामिछानेलाई गिरफ्तार गर्ने सरकारले आफ्नो नजिककालाई किन संरक्षण गरेर बसेको छ?’ भन्ने प्रश्न गरे । जब लामिछानेको गिरफ्तारीको सन्दर्भ प्रचण्डले कोट्याए, ओलीले लामिछानेप्रतिको आक्रोश थाम्न सकेनन् ।

Advertisement

पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मरेकाले आफूलाई जुठो परेको’ भन्ने भनाईप्रति आक्रोश पोखे । ‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान’ ओलीले लामिछानेको भनाईप्रति आक्रोस पोख्दै भने, ‘को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’ यति भन्दै ओलीले प्रश्न गरेका थिए, ‘यो के संस्कार हो?’ लामिछानेको भनाईलाई ओलीले संस्कारहीन करार गरेपछि त्यसको जवाफ माधव नेपालले दिएका थिए ।

उनको जवाफ थियो, ‘राजनीतिमा यस्तो संस्कार अरुले होइन, तपाईंले नै सिकाएको हो।’ नेपालले बाढी–पहिरो लगायतका अनेक समस्या देखिँदा पनि सरकार रमिते भएर बसेको आरोप लगाएका थिए ।

ओलीसँग उनको प्रश्न थियो, ‘देशमा यति ठूला–ठूला समस्या आए । यस्तो समस्या देखिँदा सर्वदलीय बैठक बस्नुपर्दैन?’ यस विषयमा प्रचण्डले पनि ओलीलाई जवाफ दिएका थिए । ‘मैले जो दोषी देखिए पनि कारबाही गरेको थिएँ, तर तपाईंले आफ्नालाई च्याप्नुभयो’ प्रचण्डले ओलीलाई भनेका थिए, ‘त्यसैले, सहकारीमा समस्या आएको हो।’

यस्तै प्रतिपक्षी नेताहरूले सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेलाई सहकारी ठगीमा दोषी नदेखाए पनि सरकारले पूर्वाग्रहवश पक्राउ गरेको आरोप लगाएका थिए । त्यस प्रसंगमा भने ओलीले आफूले संसदीय समितिले तयार पारेको प्रतिवेदन अहिलेसम्म नपढेको दाबी गरे ।

‘हुन त मैले अहिलेसम्म त्यो प्रतिवेदन पढेको छैन, तर रविको नाम प्रतिवेदनमै छ भन्छन् नि त,’ ओलीको भनाइ थियो, ‘त्यही प्रतिवेदनका आधारमा उनीमाथि कार्वाही भएको हो।’ प्रतिवेदनमा रविलाई दोषी किटान गरिएको र त्यसैका आधारमा कारबाही गरिएको प्रधानमन्त्रीको दाबीको रास्वपा सांसद शिशिर खनालले खण्डन गरेका थिए ।

‘प्रधानमन्त्रीज्यू, प्रतिवेदन लेख्नेमध्येको एउटा सांसद म पनि हुँ ।त्यसमा रविजीलाई दोषी किटान गरिएको छैन,’ खनालले ओलीलाई भने, ‘त्यसमा के लेखिएको छ, त्यो कुरा म यहाँ ब्रिफिङ गरौँ?’ तर, ज्ञापनपत्र बुझाउने कार्यक्रम भएकाले खनालले विस्तृत ब्रिफिङको अवसर पाएनन् ।

खनाल थापा नेतृत्वको समितिमा सदस्य थिए । उनीसहित रास्वपाका नेताहरूले संसदीय समितिबाट लामिछानेले क्लिनचिट पाएको दाबी गर्दै आएका थिए । यस्तै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पनि प्रधानमन्त्री ओलीसँग गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न माग गरे ।

गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न ढिलाइ किन गरेको भन्दै उनले सरकारको आलोचनासमेत गरे । पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताउँदै उनले हत्याराहरू खुलेआम घुमिरहँदासमेत सरकार रमिते भएको आरोप लगाए ।

सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनको भनाइ थियो।

‘सरकारको नेतृत्वमा नहुँदा हिजोको दिनमा प्रधानमन्त्री ओलीजीले संसदमा सहकारी ठगी प्रकरणमा रवि निर्दोष भएको बताउने तर आज सरकारको विरोध गरेपछि रविजी दोषी कसरी भए?’ साहले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्दै भने, ‘सरकारको समर्थन गरेकै आधारमा गौर हत्याकाण्डका उपेन्द्रहरूलाई बोक्ने र विरोध गर्ने रविहरूलाई जाक्ने काम ठिक होइन ।

आजपा र गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्यायको माग गर्दै आन्दोलन गर्दै आएको छ । २०६३ चैत ७ गते दिउँसो उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।

विपक्षी दलहरुको यस्ता आरोप र तिखा प्रश्न सुनेपछि प्रधानमन्त्रीले पनि आफूलाई तानाशाही भन्दा पनि जवाफ नदिएर बसेको बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् बताएअनुसार प्रधानमन्त्री ओलीले आफूले रवि लामिछानेमाथि प्रतिशोध नसाँधेको बताएका थिए ।

“मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयम् रविजीले गठन गरौँ भनेपछि समिति बन्यो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।”

उनले आफूलाई तानाशाही भनिएको बताउँदै भनेका छन्, “अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले त्यसो गर्नु राम्रो होइन ।”

यस्तै दल विभाजनसम्बन्धी अध्यादेशका बारेमा जवाफ दिँदै उनले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने कुनै योजना नभएको बताएका थिए । “विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,” ओलीको भनाइ थियो ।

यस्तै विपद् र राहतको विषयमा विपक्षी दलले राखेको चासोका विषयमा प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको भन्दै बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको बताएका थिए ।

यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान समेत उनले आग्रह गरेको रिमालले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top