६ कार्तिक , काठमाण्डौ ।
नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिसकेपछि पनि अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । र यसको कारण भने हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनु हो । स्थानीय वायुका कारण मधेश, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गेको बुलेटिनमा उल्लेख छ । यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाले जनाएको छ । बुधबार र बिहीबार पनि देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबीच पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा क्षति पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।
जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको किसानहरुको भनाइ छ ।
जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेका हुन् ।
पर्वतमा गतवर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यो वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्ने अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्यांक संकलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्यांक आइपुग्ने उनले ताए ।
किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उनले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताए । यो समयमा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा कमी आउनसक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।
ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उनको भनाइ छ ।